हरर फिल्म एकै किसिमको मात्र हुँदैन

गत जेठ ११ देखि नेपाली फिल्म सुनकेसरी रिलिज भएको छ । अर्पण थापाको निर्देशन र ऋचा शर्माको निर्माण रहेको सुनकेसरी हरर फिल्म हो । नेपालमा हरर फिल्म निकै कममात्रै बनेका छन् । त्यसैले हररका पनि उपविधामा छुट्याउन मिल्ने नेपाली फिल्म छैनन् । नेपालमा अहिलेलाई हरर फिल्म बन्नु नै ठूलो कुरा हो । तर, अन्तर्राष्ट्रिय रुपमा हरर फिल्म धेरै प्रकारका बन्छन् । हरर फिल्मका केही जनराबारे यहाँ चर्चा गरिएको छ ।

एक्सन हररः यसखाले हरर फिल्ममा एक्सनको हालिमुहाली हुन्छ । चेजिङ सिन र गनफाइटहरु पनि हुन्छन् । एक्सन फिल्ममा हुनुपर्ने गुणहरु यसमा पनि हुन्छन् । वर्ल्ड वार जेड, रेजिडेन्ट इभिल, घोस्ट राइडर, प्रिडेटर्स् जस्ता फिल्मलाई यो जनरामा राख्न सकिन्छ ।

कमेडी हररः हरर भन्ने बित्तिकै तर्साउने फिल्म हुनुपर्छ भन्ने छैन । हँसाउने खालको कमेडी हरर फिल्म पनि हुन्छन् । कहिलेकाहीँ अरु हरर फिल्मको प्यारोडीका रुपमा पनि बनाइन्छ कमेडी हरर । ब्याड टेस्ट, ब्रेन डेड, फ्राइट नाइट हरर कमेडी हुन् ।

मोन्स्टर्स्ः यो जनराको हरर फिल्ममा मानव र कुनै दैत्य वा भीमकाय जीवबीचको द्वन्द्व देखाइन्छ । रासायनिक असरका कारण कुनै मान्छे नै दैत्य बन्ने कथा यस्तो फिल्ममा हुनसक्छ । त्यस्तै अर्कै ग्रहबाट आएको जीवलाई पनि भिलेनका रुपमा उभ्याइएको हुनसक्छ । कुनै हिरोले कुनै शहर वा गाउँलाई त्यस्तो जीवबाट बचाउने कथा हुन्छ । क्याबिन इन दि वुड्स, ट्वेन्टी एट डेज, पोन्टीपुल जस्ता फिल्म यसका केही उदाहरण हुन् ।

बडी हररः मानिसको शरीरलाई ग्राफिक्सको सहारामा निकै कुरुप र डरलाग्दो बनाइन्छ बडी हरर फिल्ममा । शरीरको आकार बढ्ने, शरीरको कुनै अंग अस्वभाविक रुपले घट्ने वा बढ्ने, शरीरको आकार विकृत हुने आदि यस जनराका विशेषता हुन् । ग्राफिक्स हिंसा हुन्छ यसमा । बास्केट केस, क्याबिन फिभर र स्लिथर यस्ता केही फिल्म हुन् ।

हान्टिङ हररः कुनै अदृश्य शक्ति, प्रेतात्मा वा जीवले निश्चित घर वा ठाउँमा तर्साउने कथा हान्टिङ हरर फिल्मले समेटेको हुन्छ । रहस्यमय तरिकाले मान्छे मरिरहेका हुन्छन् । तर, कारण पत्ता लाग्दैन । कुनै दिन हिरोलाई समेत त्यो शक्तिले तर्साउन पुग्छ र हिरोले रहस्य खोजेर समस्या समाधान गरिदिन्छ । ड्रयाग मि टु हेल, हेलरेजर र द वार्ड हान्टिङ हरर फिल्ममा पर्छन् ।

साइकोलजिकल हररः कुनै बाहिरी जीव वा पात्रको भन्दा पनि आफ्नै दिमागले मात्र महसुस गर्ने पात्रको डरले पीडित हुने मूल कथानक यस्तो फिल्मले बोकेको हुन्छ । मुख्य पात्रको मानसिक अस्वस्थताका कारण यस्तो समस्याद देखिएको हुन्छ । उसले विभिन्न भयानक आकृति देख्छ र त्रसित बन्छ । द साइनिङ, ज्याकब्स ल्याडर, डोनी डार्को लगायत फिल्म साइकोलजिकल हरर हुन् ।

साइन्स फिक्सन हररः झट्ट सुन्दा अरु साइन्स फिक्सनजस्तै हो कि भन्ने सुनिन्छ । तर, केही भिन्नता छ । यसमा विज्ञान तथा प्रविधिको डर पनि देखाइन्छ । प्रविधिले गर्दा आफूलाई असुरक्षित महसुस गर्ने पात्रको कथा यसखाले फिल्ममा हेर्न पाइन्छ । द ब्लब, एलियन, फ्लाई साइन्स फिक्सन हरर फिल्म हुन् ।

स्ल्यासरः यस्तो खाले हरर फिल्म मानसिक रुपमा समस्याग्रस्त कुनै सिरियल किलर पात्रको वरिपरि घुम्छ । उसले अनगिन्ती हत्या गर्छ । हत्या पनि धारिलो हतियार प्रयोग गरी एकदमै हिंस्रक ढंगमा गर्छ । एकएक गर्दै सबै मुख्य पात्रहरुलाई उसले हत्या गर्छ । अन्तिममा मुख्य नायकले उसलाई रोक्न सफल हुन्छ । हलोइन, स्क्रिम, फ्राइडे द थर्टिन्थ फिल्मलाई स्ल्यासर मान्न सकिन्छ ।

 

 

 

प्रकाशित मिति १५ जेष्ठ २०७५, मंगलवार ०४:४२