फिल्मको भाषा अर्थात् भिजुयल ल्यांग्वेज

बाल्यकालमा हामी चाइनिज कुङ्फु फिल्म निकै हेर्थ्याैं । पुलिसको आँखा छलेर चलाइएका कोठे भिडियो हलमा त्यस्ता फिल्म हेरिन्थ्यो । त्यतिबेला हिजोआजजस्तो फिल्ममा सबटाइटलको व्यवस्था हुँदैनथ्यो । त्यसैले चिनियाँ भाषा नबुझे पनि फिल्म हेर्न बाध्य हुनुपर्थ्याे ।

तर, भाषा चिनियाँ भए पनि फिल्मको कथा भने हामी सजिलै बुझ्थ्यौं । वास्तवमा त्यस्तो हुनुको कारण फिल्ममा प्रयोग हुने दृश्यभाषा रहेछ । जुन फिल्मको दृश्यभाषा एकदम प्रभावकारी हुन्थ्यो, त्यो फिल्मको कथा हामी सजिलै बुझ्थ्यौं ।

फिल्मको भाषा भन्ने बित्तिकै धेरैले पात्रहरुले बोल्ने नेपाली, हिन्दी वा अंग्रेजी भाषा बुझ्छौं । तर, वास्तवमा फिल्मको भाषा भनेको त्यो फिल्मभित्र प्रयोग गरिएको दृश्य भाषा हो । सटहरु मिलेर सिन बन्छ । तिनै सिनहरुको बुनोटमा सिंगो फिल्म उभिएको हुन्छ । सट र सिनहरुको रचना र संयोजन नै भिजुयल ल्यांग्वेज अर्थात् दृश्य भाषा हो ।

साहित्यको भाषामा शब्द र वाक्यहरु प्रयोग गरिन्छ । फिल्मको भाषामा चाहिँ सट, सट–सिक्वेन्स र सिन प्रयोग गरिन्छ । थुप्रै सटहरु मिलेर सिन बन्छ । कहिलेकाहीँ एउटै सटको एउटा सिन पनि हुन्छ ।
एउटा तस्बिरले हजार शब्द बुझाउन सक्छ भनिन्छ । त्यस्तै एउटा भिजुयलले त्योभन्दा बढी शब्द बुझाउनसक्छ । लिखित भाषाको सबैभन्दा सानो एकाई अक्षर हो भने फिल्मको चाहिँ सट हो । तर, सटलाई अक्षरभन्दा पनि शब्दसरह मान्न सकिन्छ । किनभने अक्षरले कुनै अर्थ प्रवाह नगर्नसक्छ । सटले चाहिँ गर्छ ।

फिल्मको आविष्कार भएदेखि यता भिजुयल ल्यांग्वेज समयअनुसार परिपक्व हुँदै आएको छ । सन् १९०३ को ‘द ग्रेट ट्रेन रबरी’ फिल्ममा लगभग पहिलोपटक ‘क्रस कटिङ’ प्रयोग गरिएको थियो । अर्थात् एकै समयमा फरक ठाउँमा भइरहेका घटनाहरुलाई एकपछि अर्को गरेर देखाइएको थियो ।

रुसी फिल्म निर्देशक सर्जेइ आइजेन्स्टाइनले फिल्म ‘ब्याटलसिप पोटेम्किन’बाट मोन्टाज शैली भित्र्याए । मोन्टाज अर्थात् फरकफरक सटहरुको संयोजनबाट एउटा अर्थ प्रवाह गरिने शैली । त्यसपछि कन्टिन्युटी एडिटिङ, सट साइज, क्लोज अप, प्यारेलल एडिटिङ लगायत अनेक शैलीले फिल्मको भिजुयल ल्यांग्वेजलाई थप बलियो बनाउँदै लग्यो ।

हामी फिल्म हेर्दा पात्रको दुःखद कथा देखेर दुःखी बन्छौं । अथवा नायकको विजय देखेर खुसी हुन्छौं । तर, दर्शकलाई संवेदनामा बाँध्न निर्देशकले केकस्तो भिजुयल ल्यांग्वेजको सहारा लिएका छन् भन्नेतर्फ हामीमध्ये धेरैको ध्यान जाँदैन ।

फिल्म लिट्रेसी राम्रो हुने दर्शकले मात्र फिल्मभित्रको भिजुयल ल्यांग्वेज वा विम्ब र सबटेक्स्ट बुझेका हुन्छन् । र, जसले बुझ्छन् उसले फिल्मको असली मज्जा लिन सक्छन् ।

‘मास्टर अफ सस्पेन्स’ मानिने बेलायती फिल्म निर्देशक अल्फ्रेड हिचककले भिजुयल ल्यांग्वेजमा अर्को क्रान्ति ल्याइदिए । उनले सटहरुको बेग्लै संयोजनमार्फत दर्शकमा थ्रिल पैदा गर्दै ५३ वटा फिल्म निर्देशन गरे ।

हामी यो स्तम्भमा विश्वका प्रख्यात फिल्म निर्देशकले भिजुयल ल्यांग्वेजमा केकस्ता काम गरे तिनका बारेमा चर्चा गर्नेछौं । साथै भिजुयल ल्यांग्वेजका विभिन्न आयामहरुबारे पनि अवगत गराउनेछौं । कृपया निरन्तर भिजिट गरिरहनु होला ।

प्रकाशित मिति १६ जेष्ठ २०७५, बुधबार ११:४४