पहिलो राष्ट्रिय चलचित्र पुरस्कारः पाँच फिल्म उत्कृष्ट

काठमाडौं/ चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार (नेसनल फिल्म अवार्ड) २०६२ सालदेखि आयोजना गर्न थालेको हो । त्यसअघि सरकारी तहबाट अवार्ड आयोजना भएको थिएन । त्यसैले २०२२ सालदेखि २०५९ सालसम्म रिलिज भएका फिल्मलाई विभिन्न पाँच कालखण्डमा विभाजित गरी मूल्यांकन गरिएको थियो ।

२०६२ असार २७ देखि साउन २ गतेसम्म महोत्सवकै रुपमा भएको कार्यक्रमको अन्तिम दिन पुरस्कार तिवरण गरिएको थियो । फिल्म मूल्यांकनका लागि यादव खरेलको संयोजकत्वमा चन्द्रराज शर्मा, श्याममोहन प्रधान, नयनराज पाण्डे, अशेष मल्ल, पुष्करलाल श्रेष्ठ र बिएस राणा सम्मिलित मुख्य निर्णायक मण्डल गठन गरिएको थियो ।

त्यस्तै विधागत निर्णायक समितिको पनि छुट्टै व्यवस्था थियो । निर्देशक समूहमा यादव खरेल संयोजक, प्रताप सुब्बा, लक्ष्मीनाथ शर्मा र शम्भु प्रधान सदस्य रहेका थिए । लेखक समूहमा नयनराज पाण्डे संयोजक, कृष्णहरि बराल र विकास आचार्य सदस्य थिए ।

संगीत समूहमा चन्द्रराज शर्मा संयोजक, प्रेमध्वज प्रधान र मीरा राणा सदस्य थिए भने छायांकन समूहमा चाहिँ श्याममोहन प्रधान संयोजक, प्रेम उपाध्याय र दीपक ढकाल सदस्य थिए ।

गोविन्द वियोगी संयोजक, पी खरेल, लोकदीप थापा, कपिल काफ्ले र जशुदा प्रधान रहेको छुट्टै क्रिटिक्स अवार्ड निर्णायक समिति पनि थियो । योगेश वैद्य संयोजक, विजयउदय पाल्पाली, भरत शाक्य र उज्ज्वल घिमिरे सदस्य रहेको समितिले डकुमेन्ट्री अवार्डको निर्णय गरेका थिए ।
सम्मान पुरस्कार निर्णायक समितिमा चाहिँ वासुदेव त्रिपाठी संयोजक, गोविन्दप्रसाद शर्मा, ध्रुवचन्द्र गौतम, दुर्गानाथ शर्मा र सुवर्ण क्षेत्री सदस्य थिए ।

निर्णायकहरुले २०२२ देखि २०३० सम्म, २०३१ देखि २०४०, २०४१ देखि २०५०, २०५१ देखि २०५५ र २०५६ देखि २०५९ सम्मलार्इ पाँच कालखण्ड निर्धारण गरी फिल्मको मूल्यांकन गरेका थिए ।

त्यतिबेला चलचित्र विकास बोर्डमा शम्भुजित बास्कोटा कार्यकारी अध्यक्ष थिए । उनकै पहलमा राष्ट्रिय चलचित्र पुरस्कारको थालनी भएको थियो ।

अवार्ड विजेताहरुः

क्रिटिक्स अवार्ड विजयीहरुः

२०२२ देखि २०३० सम्म
उत्कृष्ट फिल्मः आमा
उत्कृष्ट निर्देशकः बीएस थापा, माइतीघर
उत्कृष्ट अभिनेताः हरिप्रसाद रिमाल, मनको बाँध
उत्कृष्ट अभिनेत्रीः माला सिन्हा, माइतीघर

२०३१ देखि २०४० सम्म
उत्कृष्ट फिल्मः कुमारी
उत्कृष्ट निर्देशकः प्रकाश थापा, सिन्दुर
उत्कृष्ट अभिनेताः शिव श्रेष्ठ, जीवनरेखा
उत्कृष्ट अभिनेत्रीः मीनाक्षी आनन्द, सिन्दुर

२०४१ देखि २०५० सम्म
उत्कृष्ट फिल्मः प्रेमपिण्ड
उत्कृष्ट निर्देशकः नीर शाह, वासुदेव
उत्कृष्ट अभिनेताः शिव श्रेष्ठ, वासुदेव
उत्कृष्ट अभिनेत्रीः गौरी मल्ल, कन्यादान

२०५१ देखि २०५५ सम्म
उत्कृष्ट फिल्मः दक्षिणा
उत्कृष्ट निर्देशकः किशोर राना, सीमारेखा
उत्कृष्ट अभिनेताः हरिवंश आचार्य, बलिदान
उत्कृष्ट अभिनेत्रीः हिसिला महर्जन, राजमती

२०५६ देखि २०५९ सम्म
उत्कृष्ट फिल्मः नुमाफुङ
उत्कृष्ट निर्देशकः यादव खरेल, आदिकवि भानुभक्त
उत्कृष्ट अभिनेताः राजेश हमाल, वसन्ती
उत्कृष्ट अभिनेत्रीः मिथिला शर्मा, मुकुण्डो

 

प्रकाशित मिति १९ जेष्ठ २०७५, शनिबार ०९:२१