डक्टर स्ट्रेन्ज साँच्चिकै बहादुर !

लन्डन/ हलिउड फिल्मका बेलायती अभिनेता बेनेडिक्ट कम्बरब्याच दर्शकमाझ सुपरहिरो डक्टर स्ट्रेन्जका नामले पनि चिनिन्छन् । र, उनी भर्खरै वास्तविक जीवनमा पनि सुपरहिरो नै साबित भएका छन् । लन्डनमा एक साइकलयात्रीलाई चारजना लुटेराबाट जोगाइदिएपछि उनको सर्वत्र प्रशंसा भइरहेको छ ।

सन पत्रिकाका अनुसार डेलिभरु नामक फुड डेलिभरी कम्पनीमा काम गर्ने साइकलयात्रीलाई लुटेराले घेरा हालेको देख्ने बित्तिकै ४१ वर्षीय बेनेडिक्ट आफू चढेको ट्याक्सीबाट हाम फालेर उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।

‘साइकलयात्री भाग्यमानी रहेछन् अनि बेनेडिक्ट चाहिँ सुपरहिरो नै,’ बेनेडिक्ट चढेको ट्याक्सीका चालक मानुयल डायजले सन पत्रिकासँग भनेका छन्, ‘बेनेडिक्ट साहसी, बहादुर र आत्मविश्वासी देखिएका थिए । उनी अगाडि नबढेका भए साइकलयात्रीलाई ठूलो चोट लाग्नेथियो ।’

लन्डनको मेरीलिबोन हाई स्ट्रिटमा उक्त घटना भएको थियो । ‘एकजनाले पीडितको साइकल खोस्न लागेका थिए, त्यसपछि अरुले उनको अनुहार र टाउको मुक्का प्रहार गर्दैथिए,’ लन्डन पुलिसले उल्लेख गरेको छ, ‘तर उसलाई ठूलो चोट लागेन, अस्पतालमा पनि भर्ना गर्नु परेन ।’ पुलिसले बताए अनुसार घटना गत नोभेम्बरको हो ।

ट्याक्सी चालकका अनुसार बेनेडिक्ट दौडिँदै गएर चारैजना लुटेराको हातबाट साइकलयात्रीलाई थुतेका थिए । उनले ठूलो स्वरमा चिच्याएर लुटेराहरुलाई त्रसित बनाएका थिए । सन पत्रिकाले भर्खरै यसबारे प्रश्न गर्दा बेनेडिक्टले भनेका छन्, ‘मैले जे गर्नुपर्ने थियो, त्यहीमात्र गरेको हुँ, म हिरो चाहिँ होइन ।’

प्रकाशित मिति २० जेष्ठ २०७५, आईतवार ०८:३५