बोली फेर्ने झरना !

निर्देशक झरना थापाले ए मेरो हजुर ३ मा अनमोल केसीलाई साइन गरिसकेकी छिन् । र, यो समाचारले नेपाली फिल्म क्षेत्रमा एक चरणको तरंग पनि पैदा गरिदियो । तर झरनाले अनमोललाई कति पारिश्रमिकमा सहमत गराइन्, त्यो भने बाहिर आएको छैन ।

पछिल्लो समयमा सबैभन्दा महँगो पारिश्रमिक लिने अभिनेता हुन् अनमोल, यसमा कुनै विवाद छैन । साथै अनमोललाई मुखले मागेजति पारिश्रमिक तिर्न तयार निर्माताको पनि कमी देखिँदैन । त्यसैले झरनाको फिल्म चाहिँ अनमोलले सहुलियतमा खेल्ने कुरा आउँदैन ।

आन्तरिक स्रोत अनुसार झरनाले अनमोललाई ३० लाख नगद र अस्ट्रेलिया राइट्स दिने गरी फिल्म खेलाउन लागेकी हुन् । यो भनेको लगभग ५० लाख नै हुन आउँछ । अर्थात् अनमोलको पारिश्रमिक ५० लाख नै हो भनेर किटान गर्दा गल्ती हुँदैन ।

यो हिसाब बुझेकाहरुले झरनाप्रति व्यंग्य कस्न थालेका छन् बोली फेरेकोमा । केही महिनाअघि पनि झरनाले अनमोललाई आफ्नो नयाँ फिल्म खेल्न अनमोललाई अफर गरेकी थिइन् । त्योबेला अफर गरिएको फिल्म ‘ए मेरो हजुर ३’ थिएन ।

झरनाले अनमोललाई ५० लाखसम्मको अफर गरिन् भन्ने गाइँगुइँ त्यतिबेला सुनिएको थियो । ५० लाखको अफर गर्दा पनि अनमोलले झरनाको फिल्म खेलेनन् भन्दै केही मिडियाले समाचार पनि बनाए । तर, झरनाले समाचारको खण्डन गर्दै भनेकी थिइन्, ‘अहिले हाम्रो इन्डस्ट्री कसैलाई ५० लाख रुपैयाँ दिने हैसियतमा पुगिसकेको छैन, मैले त्यत्रो पैसा दिन्छु भनेको झुठो हो ।’

तिनै झरनाले अहिले अनमोललाई करिब ५० लाख दिइसकेकी छिन् । केही महिनामै उनको बोली फेरिएको देख्दा धेरै अचम्ममा परेका छन् ।

प्रकाशित मिति २० जेष्ठ २०७५, आईतवार १०:३६