‘वीरे दि वेडिङ’लार्इ ३ दिनमा ३६ कराेड

मुम्बई/ बलिउड अभिनेत्री सोनम कपुर अहुजा र करिना कपुर खान अभिनित फिल्म ‘वीरे दि वेडिङ’ले रिलिजको पहिलो तीन दिन ३६ करोड ५२ लाख भारु उठाएको छ । स्वरा भाष्कर र शिखा तल्सानिया समेतको मुख्य भूमिका रहेको फिल्म सन् २०१८ को सप्ताहन्तमा सर्वाधिक कमाउने पाँच उत्कृष्ट फिल्ममा परेको छ ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार शशांक घोषद्वारा निर्देशित फिल्मले शुक्रबार १० करोड ७० लाख, शनिबार १२ करोड २५ लाख र आइतबार १३ करोड ५७ लाख कमाउँदै कुल कमाइ ३६ करोड ५२ लाख पुर्याएको छ ।

सन् २०१८ को अहिलेसम्म रिलिज भएकामध्ये दीपिका पादुकोण अभिनित ‘पद्मावत’को सप्ताहन्त कलेक्सन सबैभन्दा माथि अर्थात् ११४ करोड छ । ७३ करोड १० लाख सहित दोस्रो स्थानमा टाइगर श्राफको ‘बागी २’ छ । अजय देवगनको ‘रेड’ले ४१ करोड १ लाख र अक्षय कुमारको ‘प्याडम्यान’ले ४० करोड ५ लाख उठाएका थिए । ‘वीरे दि वेडिङ’ पाँचौं स्थानमा छ । छैटौं स्थानको ‘राजी’ले पहिलो सप्ताहन्तमा ३० करोड ८३ लाख कमाएको थियो ।

मेघना गुलजारको निर्देशन र आलिया भट्टको अभिनय रहेको ‘राजी’ समग्रमा ब्लकबस्टर साबित भएको छ । यसको कमाइ ११४ करोड पुगेको छ । यसले पहिलो हप्ता ५६ करोड ५९ लाख, दोस्रो हप्ता ३५ करोड ४ लाख, तेस्रो हप्ता १८ करोड २१ लाख र चौथो सप्ताहन्त ५ करोड ५ लाख हात पारेको छ ।

प्रकाशित मिति २२ जेष्ठ २०७५, मंगलवार ०३:५७