‘प्रसाद’मा निश्चल पनि एक्टर

काठमाडौं/ यसअघि नै निर्माण घोषणा भइसकेको फिल्म ‘प्रसाद’को टिममा निश्चल बस्नेत पनि थपिएका छन् । दिनेश राउतको निर्देशन रहने फिल्ममा निश्चलले पनि महत्वपूर्ण भूमिकामा अभिनय गर्नेछन् । निर्माता सुवास थापाले निश्चललाई मंगलबार साइन गरेका हुन् ।

निःसन्तान दम्पत्तीको कथामा आधारित रहने ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका छन् । यसअघि नै भएको घोषणा समारोहमा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य दम्पतीका रुपमा देखिने अवगत गराइसकिएको छ ।

चुनौतीपूर्ण र पृथक भूमिकाका लागि निश्चललाई लिइएको निर्देशक राउतले जनाए । ‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो,’ राउतले थपे, ‘हाम्रो प्रस्तावलाई उहाँले पनि सजिलै मान्नुभयो ।’

स्क्रिप्ट र रोल चित्त बुझेर फिल्म खेल्न आफू तयार भएको निश्चलले बताए । ‘मैले अहिलेसम्म नगरेकै चुनौतीपूर्ण रोल यसमा पाएको छु । सँगसँगै फिल्मको स्टोरी एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुचि जागेको हो,’ उनले भने ।

निर्देशक राउत इमान्दार भई काम गर्ने राम्रा फिल्ममेकर लाग्ने भएकाले पनि आफू फिल्मप्रति सकारात्मक भएको निश्चलले बताए । ‘मैले पनि राम्रो गर्न सकें भने मेरो करिअरका लागि पनि र फिल्मका लागि पनि उपलब्धिमूलक नै हुन्छ भन्ने मेरो विश्वास छ,’ निश्चलले थपे ।

फिल्म आगामी असार १ देखि छायांकनमा जाने तयारी चलिरहेको छ । फिल्मको लाइन अपमा निश्चलको नाम थपिएपछि अभिनेता विपिन पनि उत्साही भएका छन् । ‘कथा सुन्ने बित्तिकै मैले त पात्रको चरित्रका हिसाबले पनि र लुक्सका हिसाबले पनि निश्चलबाहेक अर्को कोही हुनै सक्दैन भन्ने मनमा आएको थियो । तर मैले यो कुरा कसैलाई भनेको थिइनँ,’ विपिनले भने, ‘मेरो अपोजिटमा निश्चललाई पाउँदा सबैभन्दा खुसी म छु । कथाको थिम अनुसार पनि निश्चल हुँदा त्यसले फिल्ममा अाकर्षण थपिनेमा म ढुक्क छु ।’

निर्देशक राउतको फिल्ममा निश्चलले पहिलोपटक अभिनय गर्न लागेका हुन् । तर, राउतको फिल्ममा निश्चल देखिन लागेको पहिलोपटक चाहिँ होइन । राउतले निर्देशन गरेको पछिल्लो फिल्म ‘पर्व’को गीत ‘काले दाइ’मा निश्चलको आइटम डान्स थियो ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिच्नेछन् भने यसमा सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहनेछ । विकास सुवेदी फिल्मका एसोसियट डाइरेक्टर छन् ।

प्रकाशित मिति २२ जेष्ठ २०७५, मंगलवार १४:५७