फिल्म र फुटबलबीच ११ समानता

सबैतिर विश्वकप फुटबलको माहौल छ । आगामी बिहीबार रसियामा २१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । विश्वकपमा ३२ वटा टिमबीच उपाधिका लागि भिडन्त हुनेछ ।

फिल्मका कलाकारहरु पनि फुटबलको तामझामदेखि मोहित नहुने कुरै भएन । कुन कलाकारलाई कुन टिम र कुन खेलाडी मन पर्छ भन्ने खालका सामग्री मिडियामा छाइरहेको छ । कलाको एउटा विधा हो फिल्म भने फुटबल चाहिँ खेलको एउटा विधा । तैपनि यी दुईबीच ११ समानता भेटिन्छन् ।

१. टिम वर्क
पहिलो समानता हो यसको स्वभाव । अर्थात् फिल्म र फुटबल दुवैको स्वभाव सामूहिकतामा आधारित हुन्छ । दुवै ‘टिम वर्क’मा मात्र सम्भव हुन्छ । फिल्ममा निर्माता, निर्देशक, लेखक, छायाँकार, कलाकार, सम्पादक लगायतको शारीरिक तथा मनोवैज्ञानिक एकता आवश्यक हुन्छ । जुन फिल्मको ‘टिम वर्क’ मिलेको हुन्छ, त्यही फिल्म राम्रो बन्ने हो ।
फुटबलमा पनि गोलकिपरदेखि डिफेन्स, मिडफिल्डर र स्ट्राइकरबीच राम्रो समझदारी बने खेल आफ्नो पक्षमा पार्न सकिन्छ । फुटबलमा सामूहिक भावना बलियो भएको टिमलाई जहिले पनि राम्रो नतिजा निकाल्नसक्ने र जितको प्रत्यासी मानिन्छ ।

२. दुवैमा कोरियोग्राफी
फिल्म र फुटबल दुवैको ‘टिम वर्क’लाई एकप्रकारको हार्मोनी पनि मान्न सकिन्छ । दुवैमा एकप्रकारको कोरियोग्राफी महसुस हुन्छ । फिल्ममा निर्देशकले कथानकलाई लयात्मक बनाएका हुन्छन् । पात्र, घटना र क्यामेराको मुभमेन्टबाट फिल्ममा लय निर्माण गरिएको हुन्छ । फुटबलमा पनि कोचले खेलाडी, स्ट्राटेजी र स्पिडलाई आफ्नो भिजनअनुसार परिचालन गरी खेललाई लयात्मक बनाएका हुन्छन् ।

३. फर्मुला नै फर्मुला
फिल्म र फुटबल खेल दुवैमा निश्चित फर्मुला हुन्छन् । फिल्मको पटकथा ‘थ्री एक्ट’, ‘फोर एक्ट’, ‘फाइभ एक्ट’जस्ता फरकफरक फर्मुलामा तयार पारिएको हुन्छ भने फुटबल खेल पनि ४-४-२, ४-३-३ वा ५-३-२ जस्ता फर्मुलामा खेलाइन्छ ।

४. लम्बाई उस्तै
अन्तर्राष्ट्रिय चलनअनुसार फिल्मको लम्बाई ९० मिनेटको हाराहारी हुने गर्छ । फुटबल खेल पनि ९० मिनेटकै हुन्छ । कुनैकुनै फिल्म लामो भएजस्तै, फुटबलका कुनैकुनै खेल पनि लम्बिन सक्छ । जेहोस् फिल्म हेर्न र फुटबल हेर्नलाई दर्शकले लगभग उस्तैउस्तै समय छुट्याउनुपर्ने हुन्छ ।

५. समान नाटकीयता
बेलायती लेखक चार्ल्स ह्यारिसले आफ्नो वेबसाइटमा फिल्मको नाटकीय संरचना र फुटबल खेलमा समानता रहेको लेखेका छन् । ‘फुटबलमा सुरुको २०–२५ मिनेटजति खेललाई एउटा फर्ममा स्थापित गर्नमै बित्छ, त्यस्तै अन्तिम २०–२५ चाहिँ निकै निर्णायक हुनसक्छ,’ उनले लेखेका छन् । उनले भनेजस्तै फिल्ममा पनि सुरुको २०–२५ मिनेट कथालाई एउटा मार्गमा हिँडाउन खर्च हुन्छ भने अन्तिम २०–२५ मिनेटमा कथाले कस्तो मोड लिने हो, निर्णायक घटनाहरु हुन्छन् ।

६. राम्रो पनि हार्नसक्छ
राम्रा मानिएका फिल्मले राम्रै पैसा कमाउँछ भन्ने ग्यारेन्टी हुँदैन । कलात्मक रुपमा अब्बल फिल्मलाई बक्सअफिसको भिडन्तमा कुनै झुर फिल्मले पराजित गर्न सक्छ । फुटबलमा पनि राम्रो खेल पस्किने टिम सधैं जित्ने ग्यारेन्टी हुँदैन । राम्रो खेल देखाएर जित हासिल गर्न नसक्ने एउटा टिम नेपालकै हो । राम्रो र कलात्मक खेल प्रस्तुत गर्ने होइन गोल हान्ने टिमले फुटबलमा जित्छ ।

७. दर्शकका भावहरु
फिल्म हेर्नेबेला जस्तै फुटबल हेर्दा पनि दर्शकमा विभिन्न भाव पैदा हुन्छन् । फिल्म हेर्दा दर्शकलाई रिस, हाँसो, डर, उत्साह पैदा हुन्छ । फुटबलमा यी भावहरु उत्पन्न नहुने कुरै भएन । खेलाडीमा पैदा हुने भावलाई दर्शकले आत्मसात गरेका हुन्छन्, फिल्ममा पनि दर्शकले पात्रहरुका संवेदनासँग आफूलाई एकाकार बनाइरहेका हुन्छन् ।

८. दुवैको क्यान्भास आयताकार
फिल्म र फुटबल दुवै आयताकार सतहमा प्रदर्शन गरिन्छ । फुटबल खेललाई सबैभन्दा उपयुक्त स्थानबाट हेर्दा मैदान जुन आकारको देखिन्छ, फिल्मको पर्दा पनि त्यस्तै आकारको हुन्छ, अर्थात् लाम्चो आयताकार । लगभग फिल्मको पर्दा र फुटबलको मैदान ‘गोल्डेन रेक्ट्यांगल’ नै हुन्छ, जसले दर्शकका आँखालाई मधुरता प्रदान गरिरहेको हुन्छ ।

९. स्टारले धान्दैन
फिल्म र फुटबल दुवैमा महँगा र चर्चित स्टारहरुको कुनै अभाव छैन । दुवैतिरका स्टारहरुले वार्षिक करोडौं डलर कमाइ गर्छन् । तर, स्टारले खेल्दैमा फिल्म राम्रो हुने ग्यारेन्टी हुँदैन । फुटबलमा समेत स्टार खेलाडीले भरिएको टिमले नै टुर्नामेन्ट जित्छ भन्ने निश्चित हुँदैन ।
लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, लुइस स्वारेजजस्ता खेलाडीहरु अहिलेका जल्दाबल्दा खेलाडी हुन् । तर, उनीहरुका राष्ट्र अर्जेन्टिना, पोर्चुगल र उरुग्वेलाई पनि तुलनात्मक रुपमा कम नाम चलेका राष्ट्रविरुद्ध जितको नतिजा निकाल्न धौधौ पर्नसक्छ । फिल्ममा पनि फुटबलमा जस्तै स्टारहरुलाई सहयोग गर्ने अरु पात्रहरु सशक्त हुनुपर्छ, अनि मात्र फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गर्नसक्छ । नेपाल, भारत र अमेरिका जहाँ पनि स्टारको उपस्थिति हुनेबित्तिकै फिल्म सुपरहिट भइहाल्दैन ।

१०. फ्रान्ससँग विशेष सम्बन्ध
फिल्म र आधुनिक फुटबलको सुरुवात लगभग उही समयतिर भएको देखिन्छ । फ्रान्सका लुमियर दाजुभाइले पेरिसमा सन् १८९५ मा पहिलो फिल्म प्रदर्शन गरेका थिए । उनीहरुलाई पहिलो फिल्ममेकर मानिन्छ । फिल्मको विकास र लोकप्रियता फराकिलो हुँदै गएको सोही समयतिर अर्थात् १९०० को ग्रीष्मकालीन ओलम्पिकमा फुटबललाई पहिलोपटक समावेश गरिएको थियो ।
इतिहासमा पहिलोपटक फिल्म प्रदर्शन गर्ने व्यक्तिहरु फ्रान्सेली भएजस्तै विश्वकप फुटबल (१९३०)मा पहिलो गोल गर्ने खेलाडी लुसियन लौरेन्ट फ्रान्सेली नै थिए । सन् १९३० मा विश्वकप सुरु भएपछि फुटबलको लोकप्रियता र क्रेज अझ बढेको थियो । त्यही समयतिर हलिउडमा ध्वनिसहितका फिल्म निर्माणले फिल्मको बजारलाई अझ बढाउँदै गयो ।

११. दुवै सांस्कृतिक पहिचान
फिल्म र फुटबल सम्बन्धित देशको सांस्कृतिक पहिचान पनि हो । देशअनुसार फिल्म र फुटबलको शैली निर्माण भएको हुन्छ । कोरियन फिल्मको आफ्नै पहिचान भएझैं यसको फुटबल खेल्ने शैली पनि छुट्टै छ । जसरी फ्रान्स, इंग्ल्यान्ड, इरान, मेक्सिकोका फिल्म शैलीगत रुपमा फरक छन्, ती देशका फुटबल खेल्ने शैली पनि एकअर्कादेखि भिन्न छन् ।

प्रकाशित मिति २७ जेष्ठ २०७५, आईतवार ०७:२८