विश्वयुद्धदेखि मोहन शमसेरको बडिगार्डसम्म

काठमाडौं/ उनले फिल्म र टेलिफिल्ममा अभिनय गर्न थालेको धेरै पछि हो । खासमा उनी सुवेदार भीमबहादुर थापाका नामले जनतामाझ उहिल्यै चर्चित भइसकेका थिए । यसको जस नेपाली सेनाको रेडियो कार्यक्रम ‘रेडियो रुपक’लाई जान्छ । उनले २००८ देखि २०४५ सालसम्म लगातार ३७ वर्ष ‘रेडियो रुपक’मा बोले, श्रव्यनाटक खेले अनि श्रोतासँग अन्तर्क्रिया गरे ।

रेडियोका लागि एउटा इतिहास नै मान्न सकिने उनै भीमबहादुर बुधबार बिहान २ः०० बजे हामीबाट बिदा भए । उनी ९२ वर्षका थिए । १९८३ साल असार १३ गते खोटाङमा जन्मिएका उनको अभिनय समेटिएको अन्तिम फिल्म ‘छक्कापन्जा २’ हुन पुगेको छ । पछिल्लो समयमा अफर आए पनि अस्वस्थताका कारण उनले अरु फिल्ममा काम गरेका थिएनन् ।

काठमाडौंको मैतीदेवी मन्दिरनजिकै उनको घर छ । उनी मन्दिरकै वरिपरि हिँडडुल गरिरहेका देखिन्थे । तर, केही महिनादेखि अस्वस्थ भएपछि अस्पताल भर्ती भएका थिए । उनकै आग्रहमा उनलाई घर ल्याइएको थियो । अन्ततः उनले आफ्नै घरमा अन्तिम सास फेरे ।
खोटाङमा उनी सामान्य गोठाला थिए । भर्खर १६ वर्ष टेक्दैथिए, साथीभाइको लहडमा उनी ब्रिटिस सेनामा भर्ती हुन देहरादुन पुगे । र, सन् १९४२ देखि १९४५ सम्म उनले बर्मामा गएर दोस्रो विश्वयुद्ध लडे ।

विश्वयुद्ध थामिएपछि विक्रम संवत २००२ सालमा उनी नेपाल आइपुगे । उनलाई नेपालको तत्कालीन शाही सेना ‘चौबीस पल्टन’मा भर्ती हुने प्रस्ताव आयो । ब्रिटिस सेनामा उनले ३५ रुपैयाँ भारु तलब पाउँथे । नेपाल सेनामा जम्मा ९ रुपैयाँ तलब थियो । तैपनि उनले सेनाको जागिर खाए । हरेक महिना ४ रुपैयाँ वचत गरेर घर पनि पठाउँथे ।

तत्कालीन प्रधानमन्त्री मोहन शमसेरको बडिगार्डका रुपमा सरुवा भएपछि उनको आम्दानी थप बढ्यो । उनले त्यतिबेला सुरु गरेको सेनाको जागिर २०४१ सालसम्म खाए । उनी रिटायर्ड हुँदा मेजर थिए ।

उनले आफ्नो जीवनकालमा १५ वटा नाटक, ६८ वटा फिल्म र डेढ सयभन्दा बढी टेलिफिल्ममा अभिनय गर्न भ्याए । फिल्म र टेलिफिल्ममा समेत उनी धेरैजसो रिटायर्ड आर्मीका रुपमा अभिनय गर्थे । र, फिल्मका पर्दाहरुमा देखा पर्दा उनको हातमा सधैंजसो भरुवा बन्दुक हुन्थ्यो ।

उनकै अनुसरण गरेर उनका छोरा प्रकाश थापाले पनि रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने गर्थे । तर, प्रकाश १५ वर्षदेखि अमेरिकामा छन् । भीमबहादुरको वास्तविक जीवनमा दुईपटक बिहे भएको थियो ।

५० को दशकको चर्चित टेलिसिरियल ‘देवी’ र ६० को दशकको ‘तीतो सत्य’मा उनले अभिनेत्री दीपाश्री निरौलाको बुवा भएर अभिनय गरेका थिए । त्यही कारणले उनलाई दीपाश्रीले धर्मपिता बनाएकी थिइन् ।

भीमबहादुरको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति ३० जेष्ठ २०७५, बुधबार ०५:१७