चितवनकाे पुरानाे सदरमुकाममा ‘नालापानी’काे सुटिङ

काठमाडौं/ केही समयअघि काठमाडौंको ब्यारेकमा छायांकन गरेर फिल्म नालापानी युनिट अहिले चितवन पुगेको छ । चितवनको पुरानो सदरमुकाम उपरदाङ गढीमा फिल्मका महत्वपूर्ण दृश्यहरूको सुटिङ भइरहेको छ । नेपालमा ऐतिहासिक विषयमा फिल्म बनाउनु प्राविधिक, आर्थिक र व्यवहारिक रूपमा चुनौतीपूर्ण हुन्छ । यो चुनौतीलाई सामना गर्दैछन् निर्देशक रिमेश अधिकारी ।

चितवनमा फिल्मको सुटिङ सुरू भएको एक साता भइसकेको छ । थप एक सातापछि फिल्मको ९० प्रतिशत सुटिङ सम्पन्न हुने निर्देशक अधिकारीले जनाए । उनका अनुसार बाँकी १० प्रतिशत सुटिङ काठमाडौंमै गरिनेछ । फिल्मलाई २०७६ साल नयाँ वर्षको छेको पारेर रिलिज गर्ने योजना छ ।

सन् १९६० सम्म उपरदाङ गढी चितवनको सदरमुकाम रहेको थियो । यो ऐतिहासिक किल्ला चितवनको उत्तरी भागमा पर्छ । समुद्री सतहदेखि १२७५ मिटर उचाइमा पर्ने किल्ला सन् १८०० को सुरूवाततिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए ।

गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । चारैतिर गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोतघर छ ।

’नालापानी’को कथासँग जोडिएकोले उपरदाङ गढीमा सुटिङ गरिएको निर्माता मनोज शाक्यले बताए । फिल्म युनिट त्यहाँ निकै कठिनाइका साथ पुगेको थियो । ’अत्यन्तै साँघुरो बाटोमा नेपाल आर्मीको गाडी लिएर पुग्नु निकै जोखिमपूर्ण थियो । जोखिम मोलेरै भए पनि छायांकन गरेका हौं,’ निर्माता शाक्यले थपे।

निश्चय नै फिल्ममा भिएफएक्सको भरपूर प्रयोग हुनेछ । त्यसैले फिल्मको हरेक सुटिङमा फिल्मको सम्पादन र भिएफएक्स टिमलाई साथै लगिएको छ । भिएफएक्सकै सहारामा नेपालको अढाइ सय वर्ष पुराना दृश्यहरू फिल्ममा उतारिनेछ ।

फिल्मको निर्माण कार्यमा नेपाली सेनाले गरेको सहयोगप्रति आभारी छन् निर्देशक अधिकारी । ‘नेपाल आर्मीले हामीलाई सहयोग र समन्वय नगरिदिएको भए यसको काम नै हुँदैनथ्यो होला,’ उनले भने ।

हाल भारतको देहरादुनमा पर्ने नालापानीमा नेपालले सन् १८१४ मा ब्रिटिस साम्राज्यविरुद्द युद्ध लडेको थियो । तत्कालीन गोरखाली सेनाका कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो । तर अंग्रेज फौजले चलाखी गरेर नेपाललाई हराएको थियो ।

प्राचार्य रामराजा कुँवर र प्राध्यापक डा धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित छ फिल्म । यसमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता विष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुष्मा भट्टराई लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन्।

रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, रामशरण उप्रेतीले छायांकन, विपिन मल्लले सम्पादन र अच्युत गजुरेलले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति ३० जेष्ठ २०७५, बुधबार १५:४९