नाटकमा भोट युद्ध र बसन्तकाे कविता

काठमाडौं/ सयौं वर्षअघि तिब्बतमा नुन लिन जाँदा तामाङ र तिब्बतीबिच भएको युद्ध समेटिएको लोकनाटक ‘ताचेमा’ र बुद्धचित्त मालाको बोटलाई संस्कृति र परम्परागत ज्ञानको प्रतीक बनाइएकाे कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ सेलो नाट्य महोत्सवकाे दाेस्राे दिन अाइतबार मञ्चित भए ।

गोपाल फ्युबाले संयोजन गरेको ‘ताचेमा’ धादिङ जिल्लाको प्रचलित लोकनाटक मानिन्छ । रातो वस्त्रधारी तिब्बती सेना र सेतो वस्त्रधारी तामाङ सेनाबीच भएको युुद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छन् । दुवै पक्ष मिलेपछि नुनसँग अन्न साटेर तामाङहरु तिब्बतबाट फर्किन्छन् ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशन फ्युबा, मनोज लोप्चन, सिंहबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, शुभसन्तोष तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनिता तामाङले अभिनय गरेका थिए ।

त्यस्तै कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ले भने पितृप्रतिको सम्मान, समर्पण र उनीहरुको मुल्यबोधको सौन्दर्य प्रस्तुत गरिएको थियो । बसन्त चौधरीको नेपाली कविता ‘मेरो वाेधिवृक्ष’को तामाङ रुपान्तरणलाई शान्ति वाइबाले नाटकको रुपमा निर्देशन गरेकी हुन् । बुद्धचित्त मालाको रुखलाई पुर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकका रुपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरु अन्त्यमा आफ्नो बुबा–आमा (संस्कृति) सम्झेर फर्किन्छन् ।

नाटकमा शान्तिसँगै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए । नाटक निर्देशकहरुलाई प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मायाको चिनो प्रदान गरेका थिए ।

‘परापूर्वकालदेखि तामाङहरु उपत्यका आसपास छरिएर रहेको पाइन्छ,’ उनले भने, ‘तर, अहिले आधुनिकताका कारण विस्तारै परिस्थिति बदलिँदैछ । जे जस्तो भए पनि आफ्नो मौलिक संस्कृति जोगाइ राख्नुपर्छ । त्यस दृष्टिले यस्तो महोत्सव निकै अर्थपूर्ण हुनसक्छ ।’ नाटक मंचन अघि ‘तामाङ रंगमञ्चको अवस्था’बारे भाषाविद् अमृत योन्जनले कार्यपत्र पेश गरेका थिए । उनले तामाङहरु लोकनाटकमा धनी भए पनि आधुनिक रंगमंचमा बल्ल पाइला चाल्न थालेको बताए ।

महोत्सवको कार्यपत्र सेसनमा समाजशास्त्री डा. मुक्तसिंह तामाङ, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त लगायतले रंगमञ्चको चर्चा गरेका थिए । काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रतिष्ठान र सेलो फाउन्डेसनले गरेको महोत्सवको तेस्रो दिन सोमबार एक कार्यपत्र, एक आधुनिक नाटक र एक लोक नाटक प्रस्तुत गरिने बताइएको छ ।

प्रकाशित मिति ३ असार २०७५, आईतवार १४:५५