ड्वाइन जाेनसन सर्वाधिक कमाउने अभिनेता

फाेर्ब्स म्यागेजिनका अनुसार हलिउड अभिनेता ड्वाइन जाेनसन गएकाे वर्ष सर्वाधिक कमाउने अभिनेता ठहरिएका छन् । फाेर्ब्सकाे २० वर्षे इतिहासमै अभिनय गरेर सर्वाधिक पैसा कमाउने कलाकार साबित भएका छन् जाेनसन । सन् २०१७ काे जुनदेखि २०१८ काे जुनकाे अवधिमा सबैभन्दा बढी कमाउने सेलिब्रिटीकाे वार्षिक सूची फाेर्ब्सले दुर्इ दिनअघि सार्वजनिक गरेकाे हाे ।

अघिल्लाे सालकाे सूचीमा जाेनसन २२ अाैं स्थानमा थिए । यसपालि अाफ्नाे अाम्दानी दाेब्बर वृद्धि गर्दै उनी समग्र सेलिब्रिटीकाे सूचीकाे पाँचाैं स्थानमा उक्लिएका छन् । उनले पछिल्लाे एक वर्षमा १२ कराेड ४० लाख डलर अाम्दानी गरेका छन् ।

सूचीकाे दाेस्राे स्थानमा हलिउड अभिनेता जर्ज क्लुनी परेका छन् । उनले पछिल्लाे वर्ष २३ कराेड ९० लाख डलर कमाएका थिए । तर, उनले अभिनयभन्दा पनि टेक्विला कम्पनीकाे सेयरबाट पैसा कमाएका हुन् । त्यसैले शुद्ध अभिनयबाट पैसा कमाउनेमा जाेनसन नै अगाडि छन् ।

जाेनसनकाे पारिश्रमिक महँगाे त छँदैछ, गएकाे वर्ष रिलिज भएकाे फिल्म जुमान्जीकाे नाफाबाट पनि उनले बाेनस पाए । उक्त फिल्मले विश्वव्यापी रूपमा एक अर्ब डलर ग्रस कलेक्सन गरेकाे थियाे ।

सर्वाधिक कमाउने १०० सेलिब्रिटीकाे सूचीमा भारतीय अभिनेता अक्षय कुमार र सलमान खान क्रमशः ७६ र ८२ अाैं स्थानमा परेका छन् । यसपालि शाहरूख खान भने सूचीमा पर्न सकेनन् ।

सूचीकाे पहिलाे नम्बरमा पूर्व अमेरिकी बक्सर फ्लाेइड मेवेदर परेका छन् । उनले २८ कराेड ५० लाख डलर अाम्दानी गरेकाे छ ।

 

 

प्रकाशित मिति २ श्रावण २०७५, बुधबार ०७:०८