स्क्रिप्ट ‘द गिफ्ट’लार्इ तीन लाख

काठमाडौं/ नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसनकाे तेस्राे सिजनमा सुनील गुरुङले बाजी मारेका छन् । उनीद्वारा लिखित ‘द गिफ्ट’ नामक स्क्रिप्ट पहिलाे हुँदै तीन लाख रूपैयाँ पुरस्कार जित्न सफल भएको छ । उनकाे स्क्रिप्टमा माओवादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथा समेटिएकाे छ ।

कम्पिटिसनका अायाेजक ग्रीन हिल्स इन्टरटेनमेन्ट र न्यु नेपाली सिनेमाले मंगलबार काठमाडाैंको उडल्यान्ड होटेलमा विजेतालार्इ पुरस्कृत गरेकाे हाे । फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले तथा आयोजक संस्थाका प्रमुख मनोज अधिकारीले विजेता सुनीललाई पुरस्कार रकमको चेक प्रदान गरेका थिए ।

यसपालि प्रतिस्पर्धाका लागि १ सय ५० वटा स्क्रिप्ट प्राप्त भएकामा उत्कृष्ट ३० छानिएको थियो । तीमध्ये सुनीलको ‘द गिफ्ट’ सहित रियाज नतकारको ‘मि र म’ र विपिन भुषालको ‘अड वान आउट’ उत्कृष्ट तीनमा परेका थिए ।

नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरी कम्पिटिसन गरिएकाे अायाेजक मनाेज अधिकारीले बताए । अस्ट्रेलिया निवासी फिल्म निर्माता तथा निर्देशक मनोजकै पहलमा सन् २०१२ देखि याे कम्पिटिसन हुँदै अाएकाे छ ।

उनले अघिल्ला प्रतियोगितामा उत्कृष्ट ठहरिएका स्क्रिप्टमा ‘ऋतु’ र ‘दोख’ फिल्म बनाइसकेको बताउँदै उनले ‘द गिफ्ट’ पनि छिट्टै फिल्मका रुपमा दर्शकमाझ आउने विश्वास व्यक्त गरे । विजेता सुनीलले स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम हुँदा आफूले जिन्दगीकै सबैभन्दा ठूलो खुसी पाएको अनुभव सुनाए । पुरस्कारले आफूलाई फिल्म लेखनमा ठूलो हौसला र प्रेरणा मिलेकाे उनले बताए ।

कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले र निर्देशक दीपेन्द्र के खनालले फिल्मकाे मेरूदण्ड नै स्क्रिप्ट भएकाेले यसकाे स्तरीयकरणका लागि यस्ता कार्यक्रमहरूकाे ठूलाे याेगदान हुनसक्ने भन्दै अायाेजकप्रति अाभार व्यक्त गरे ।

प्रकाशित मिति ३ आश्विन २०७५, बुधबार ०५:१७