दयाहाङको निर्देशनमा नाटक ‘जालिनी’

काठमाडौं/ दयाहाङ राई फिल्मका व्यस्त अभिनेता हुन् । उनी कास्कीतिर फिल्म साइँलीमा अभिनय गर्दैछन् । फिल्मको ग्ल्यामरले छोपिसकेको छ उनलाई । तैपनि नाटकप्रतिको मोह उस्तै छ । त्यसैले होला उनले भर्खरै पनि एउटा नाटक निर्देशन गरेका छन्, ‘जालिनी ।’ अनामनगरको मण्डला थियटरमा यसको मञ्चन भइरहेको छ ।

पत्रकार ध्रुवसत्य परियारद्वारा लिखित नाटक लोककथाको संरचनामा उभिएको छ । लोककथा भनेपछि कुनै काल्पनिक राज्य, राजा, राजकुमारी र प्रजाहरुको संसार हुने नै भयो । ‘जालिनी’मा पनि छ ।

तर नाटकको क्यान्भास काल्पनिक भए पनि यो विम्बात्मक छ, कलात्मक छ । त्यसैले नाटकका पात्र, घटना र परिवेश परिचित वा प्रतीकात्मक लाग्छ । यसले नेपालकै इतिहास र वर्तमान शासन पद्धतिलाई पनि व्यंग्य गर्छ ।

जनताको श्रमशोषण गर्दै आफ्नो विलासिता पूरा गर्ने राजा जयस्थितिको कथा नाटकमा छ । जयस्थिति र जलजला नामक एक नारीबीचको द्वन्द्वमा नाटक अघि बढ्छ । आफ्नोविरुद्ध कसैले पनि आवाज नउठाओस् भन्ने चाहना जयस्थितिको हुन्छ । तर विद्रोही स्वभावकी जलजला र उनका छोरा जयनले राजाविरुद्ध आवाज उठाइरहन्छन् ।

राजा र जलजलाबीच राजकुमारी जालिनी उभिएकी छे । जालिनी जयनको प्रेममा छे । त्यसैले कसको पक्षपोषण गर्ने भन्ने मामिलामा ऊ द्विविधामा पर्छे । राजाले जालिनी र जयनलाई अलग्याउन भरमग्दुर प्रयास गर्छ ।

राजाको भूमिकामा विजय बरालले रोमाञ्च पैदा गरेको छ । जलजला बनेकी सिर्जना सुब्बाको अभिनय परिष्कृत नै छ । जालिनीको चरित्रलाई बिनिता गुरुङ र जयनको भूमिकालाई पुष्कर कार्कीले जीवन्त बनाएका छन् ।

छोटो समयका लागि देखिने पात्र प्रधानमन्त्रीलाई हास्यात्मक बनाउन सक्षम देखिएका छन् कलाकार इँगिहोपो कोइँच सुनुवार । त्यस्तै अरु कलाकार सागर दाहाल, विकास पन्त, सन्जीव राई, दीपक पछलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदीप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान र देविन चौधरीले राम्रै मिहेनत गरेका छन् ।

नाटक सोमबारबाहेक हरेक साँझ आउँदो असोज २१ गतेसम्म मञ्चन हुनेछ ।

(तस्विर साैजन्यः फाेटाे महल)

प्रकाशित मिति १५ आश्विन २०७५, सोमबार ०५:३१