कामना फिल्म अवार्ड मंसिर १५ मा

काठमाडाैं/ कामना फिल्म अवार्डको चौथो संस्करण आगामी मंसिर १५ गते आयोजना हुने भएको छ । कामना सिने मासिक म्यागेजिनले आफ्नो प्रकाशनको ३५ औं वर्ष प्रवेशको अवसरमा अवार्ड समारोह गर्न लागेको हो ।

यसपालि हुने सिजी कामना अवार्डमा ३२ विधातर्फ अवार्ड वितरण गरिनेछ । अवार्डका साथै ‘लक्स स्टार अफ द इयर’ विधामा पनि विजेता छानिनेछ । यो विधामा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तिमा खड्का र आना शर्मा मनोनीत छन् । यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजकले जनाएको छ ।

२०७४ सालभित्र रिलिज भएका फिल्महरुमध्येका उत्कृष्टलाई कामना फिल्म अवार्ड प्रदान गरिन लागेको हो । सर्वोत्कृष्ट फिल्म विधामा ‘ब्लाइन्ड रक्स’, ‘घामपानी’, ‘कृ’, ‘लिलीबिली’ र ‘शत्रु गते’ मनोनयनमा परेका छन् भने निर्देशकमा ‘छक्का पञ्जा २’ बाट दीपाश्री निरौला, ‘लिलीबिली’बाट मिलन चाम्स, ‘मंगलम’बाट नवल नेपाल, ‘शत्रु गते’बाट प्रदीप भट्टराई र ‘कृ’बाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।

त्यसैगरी अभिनेतामा ‘छक्का पञ्जा २’बाट दीपकराज गिरी, ‘घामपानी’बाट दयाहाङ राई, ‘झ्यानाकुटी’बाट सौगात मल्ल, ‘कृ’बाट अनमोल केसी, ‘लिलीबिली’बाट प्रदीप खड्का र ‘मंगलम’बाट पुष्प खड्का दावेदार बनेका छन् । अभिनेत्रीतर्फ ‘ब्लाइन्ड रक्स’बाट बेनिशा हमाल, ‘शेरबहादुर’बाट मेनुका प्रधान, ‘पञ्चायत’बाट नीता ढुंगाना, ‘शत्रु गते’बाट प्रियंका कार्की, ‘पिंजडा ब्याक अगेन’बाट सारा सिरपाली र ‘मंगलम’बाट शिल्पा पोखरेल मनोनयनमा परेका छन् ।

उत्कृष्ट ५ को मनोनयनमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यवस्था गरिएको छ । ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ ।

प्रकाशित मिति १२ कार्तिक २०७५, सोमबार १५:०५