‘फस्ट ब्लड’लार्इ पहिलो पुरस्कार

ललितपुर/ आरआरश्री स्कुलअफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड फिल्म ‘फस्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका ’विषयमा गरिएको सर्टफिल्म प्रतियोगितामा ५० हजार रूपैयाँकाे पहिलो पुरस्कार हात पारेको छ । डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै ‘फस्ट ब्लड’ प्रथम हुन सफल भएको हो ।

सम्मानजनक महिनावारीका विषयलाई उठान गर्न प्रतियोगिता आयोजना गरिएको थियो । डिसिए नेपालका कन्ट्री डाइरेक्टर डेभिड वालेस स्मिथले यस्ता विषय उठानका लागि फिल्म प्रतियाेगिता फलदायी भएको बताए । उनले आगामी दिनमा पनि महत्वपूर्ण विषयहरुलाई प्रतियोगिता तथा अन्य माध्यमबाट उठान गरिरहने प्रतिवद्धता व्यक्त गरे । डिसिए नेपालले गत वर्षदेखि विभिन्न सामाजिक विषयमा हरेक वर्ष सर्ट फिल्म प्रतियोगिता गर्दै आएको छ ।

रेवती गुरुङ निर्देशित ‘राजवती’ले दोश्रो पुरस्कार, आश्मा गौतम निर्देशित ‘शिखा मैनबत्तीको (रिइम्याजिन्ड) ले तेस्राे पुरस्कार हात पार्यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो । विजेताहरुले प्रमाणपत्रको साथमा क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ प्राप्त गरे ।

दीपक रौनियार, राधा पौडेल र गुणराज श्रेष्ठ सम्मिलित ‘जुरी’को समुहले विजयी फिल्म छनाेट गरेका थिए ।

प्रकाशित मिति १८ कार्तिक २०७५, आईतवार ०३:४८