एक्सन फिल्म ‘रणवीर’काे अायाे टिजर

काठमाडाैं/ एक्सनले भरिएकाे फिल्म ‘रणवीर’को टिजर अाइतबार सार्वजनिक भएको छ । माघ १८ मा रिलिज हुने फिल्मले मोसन पोस्टर र पोस्टर सार्वजनिक गरेपछि टिजर निकालेकाे हो । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको द्वन्द्व देखाइएको छ । अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन् ।

उनले शारीरिक रुपमा पनि आफूलाई परिवर्तन गरेको पाइन्छ । फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै बदलाको भावनालाई चित्रण गरिएको छ । महँगाे बजेटमा तयार भएको फिल्मलाई गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका कलाकार, निर्माता तथा निर्देशक के भन्छन् त ?

सुशील सिटौला: फिल्मका लागि मैले कति मेहनत गरे भन्ने कुरा शब्दले व्यक्त गर्नुभन्दा पनि भिजुयलले व्यक्त गर्छ नै । यसमा मलार्इ अघिल्ला फिल्मको सुशील पाउनु हुने छैन । एक्सनका लागि मैले आफूलाई तयार गरेको छु । फिल्म राम्रो बनेको छ । एउटा बेरोजगार युवाको संघर्ष र उसको रिभेन्ज नै फिल्मको विषयवस्तु हो ।

प्रशान्त ताम्राकारः ‘ऐश्वर्य’पछि मैले अभिनय गरेको फिल्म हो, रणवीर । यो फिल्ममा काम गर्दा मैले आफैलाई चिन्ने मौका पाएको छु । मैले कति काम गरे र कति गर्न सक्छु भन्ने मूल्यांकन पनि छ यसमा । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ, यसमा दुई मत नै छैन । फिल्मले हाम्रै कथालाई बोकेको छ, प्रस्तुतिकरणले दर्शकको मन जित्छ । मलाइ फेरि ‘ऐश्वर्य’भन्दा एक स्टेज अप क्यारेक्टरमा देख्न पाउनु हुनेछ ।

दीपेन्द्र रेग्मीः हामीले फिल्ममेकिङमा कुनै कञ्जुस्याइँ गरेका छैनौं । फिल्मलाई निकै मेहनतका साथ तयार पारेका छौं । फिल्म हेरिरहँदा दर्शकले प्रस्तुतिकरणमा पक्कै पनि भिन्नता पाउनु हुनेछ । फिल्मले दर्शकलाई कहीँकतै निराश बनाउनेछैन ।

प्रकाशित मिति १६ मंसिर २०७५, आईतवार १८:२२