‘जानी नजानी’ चैत १ मा अाउँदै

काठमाडौं/ फिल्म ‘जानी नजानी’ अागामी चैत १ मा रिलिज हुने भएकाे छ । फिल्मबाटै वसन्त अधिकारी निर्देशकका रूपमा पदार्पण गर्दैछन् । उनी यसअघि सहायक निर्देशक भर्इ काम गर्थे । फिल्मकाे पाेस्टर र रिलिज डेट साेमबार सार्वजनिक गरिएकाे हाे ।

कलर ब्लाइन्डले तयार पारेको पाेस्टरमा फिल्मका मुख्य कलाकारहरू मनीष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ समेटिएका छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा केही पनि यही फिल्मबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन् । उनले यसअघि मुम्बर्इका हिन्दी सिरियलहरूमा अभिनय गरेकी थिइन् । प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय यसमा छ ।

आधुनिक प्रेमकथामा आधारित भनिएको ‘जानी नजानी’मा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । संजय लामाको खिचेकाे फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविण सिंह र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स, रेनिश फागोको कलर ग्रेडिङ रहेका फिल्म रोशनी इन्टरटेन्मेनटको ब्यानरमा बनेकाे हाे । फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीले पनि लगानी गरेका छन् । फिल्म निर्माणमा कुनै कम्प्राेमाइज नगरिएकाे प्रस्तुतकर्ता राेशनी केसीले बताइन् ।

 

प्रकाशित मिति १८ मंसिर २०७५, मंगलवार ०८:५२